Sunday, July 29, 2012

अमेरिकीतेल राजनीति र आर्थिकमन्दी


अमेरिकीतेल राजनीति र आर्थिकमन्दी

अमेरिकी साम्राज्यवादी मानसिकता हिजोभन्दा आज आक्रामक हुँदै गइरहेको छ । सोहीअनुरूप उसका नीतिहरूमा अपेक्षित परिवर्तन सहजै अनुमान गर्न सकिन्छ । परिस्थितिलाई आफूअनुकूल बनाई अप्रत्यक्ष लाभका निम्ति आफूलाई हरदम तल्लीन राख्नु अमेरिकी विशेषता नै हो । यसथमा उसलाई अवसरवादी साम्राज्याधिपतिको उपमा अनुपयुक्त नहोला भन्न सकिन्न । तर, अपरिपक्व नीतिहरूको गन्ध आज अमेरिकाले स्वीकार गरेको र व्यक्त मात्रै गर्न नखोजेको उसको व्यवहारले स्पष्ट हुन्छ ।

अरब राष्ट्रहरूमा राजनीतिक सङ्कटको रणनीतिक प्रयोग अमेरिकाका लागि कूटनीतिक अस्त्र बनेको हिजोको परिवेश अब त्यति सहज नहुने देखिन्छ । इराक द्वन्द्वपश्चात् अकाशिएको तेलमूल्यको आर्थिक प्रभावलाई हेर्ने हो भने दीर्घकालमा त्यसले अमेरिकी अर्थतन्त्रमा नै प्रभाव पार्यो । कमाएको पैसा सबै तेल किन्न खर्च गर्नुपर्ने तथा त्यो पैसा अरब राष्ट्रमा नै पुग्नुले आर्थिक सङ्कटलाई चरम चुलीमा पुर्याएको थियो । तेलको मूल्य प्रतिब्यारेल १ सय ४७ अमेरिकी डलर पुग्दा अमेरिकी जनताको सबै पैसा अरब राष्ट्रमा नै गएको देखिन्छ ।

कच्चातेलमा आधारित अमेरिकी कच्चा राजनीति द्वैध मनस्थितिको उपज हो । त्यसले अमेरिकी अर्थतन्त्रमा पार्ने प्रभावलाई निश्चय नै अमेरिकी कूटनीतिज्ञले अवमूल्यन गरेका छैनन् होला । तर, उसका गतिविधिहरू एउटा कूटनीतिक मर्यादा र दिशाबोध नगरीकनै अघि बढिरहेका देखिन्छन् । इराक आक्रमणका कारण तेल स्खलनमा समस्या आई कच्चातेलको आपूर्तिमा अवरोध पुग्दा पूर्ति र मागको असमन्वयका कारण मूल्यमा अनपेक्षित उतार-चढाव भएको थियो । त्यसको प्रत्यक्ष प्रभाव कच्चातेलको प्रमुख खपत गर्नेमध्येको एक राष्ट्र अमेरिकामा पनि पर्न गएको थियो । त्यसका कारण एकातिर दिनभरिको कमाइले तेलकै खर्च धान्न नपुग्ने अवस्था अमेरिकीहरूमा पर्यो । अर्कातर्फअमेरिकी चालू खर्चको एक ठूलो हिस्सा तेल मूल्यका रूपमा अरब राष्ट्रहरूमा पुग्यो । त्यसले अमेरिकामा गुम्सिएको आर्थिक सङ्कट स्पष्ट रूपमा देखिन पुग्यो । यसको उपज अमेरिकी वाणिज्य तहसनहस हुन पुगी विश्व आर्थिक सङ्कटको रूप लिन पुग्यो । जग्गा व्यापार आर्थिक सङ्कटको प्रमुख कारण हुँदाहुँदै अमेरिकी तेल नीति त्यसको अर्को कडी बन्न पुग्यो । तत्पश्चात् गरिएका विभिन्न प्रयासले अर्थतन्त्र केही हदसम्म उकासिए पनि फेरि अमेरिकाले देखाएको तेल प्रलोभनरूपी राजनीतिले अमेरिकी अर्थतन्त्रलाई नै धक्का लाग्ने निश्चितप्राय: भएको छ । किनभने कच्चातेलको मूल्यले फेरि गगनचुम्बी दिशा तय गर्न शुरू गरिसकेको छ, जसको उत्प्रेरणा अरब राष्ट्रमा सल्केको आगो बनेको छ ।

अरब राष्ट्रका धनाढयको सङ्ख्याले अमेरिकी धनाढयलाई उछिन्दै गएको छ । यसैकारण विश्व आर्थिक मन्दीको असर अरब राष्ट्रमा नदेखिएको हो भन्दा दुईमत नहोला । कच्चातेल उत्पादन/प्रशोधन गर्ने राष्ट्रहरूको सङ्गठन 'ओपेक' को समेत तेलमा भइरहेको मूल्य वृध्दीप्रति ध्यानाकर्षण भइसकेको छ । कच्चातेलको मूल्यवृद्धिलाई कदापि सहज रूपमा लिन सकिँदैन । जब-जब आर्थिक सङ्कट मौलाउँदै जान्छ, तब-तब तेल तथा अन्य अत्यावश्यक वस्तुको मूल्य बढ्दै जान्छ । त्यसैबेला अमेरिकाजस्तो शक्ति राष्ट्रले दीर्घकालीन नीति तर्जुमा नगर्दा सम्पूर्ण विश्वले नै नराम्रो परिणाम भोग्दै जान्छ । अहिले लिबियाले विश्वभरिको तेलको ३ प्रतिशत तेल उत्खनन गर्दै आएको छ । त्यसमा अमेरिकाको आँखा लागेको छ, जसलाई लिबियामा अनायासै देखिएको समस्याले प्रमाणित गरिदिएको छ ।

ओसामा बिन लादेनको अन्त्य हुनु, अफगानिस्तानबाट सेनाको लगानी कटौती हुनु, सोही अनुपातको सैन्य लगानी अन्य राष्ट्रमा स्थानान्तरण हुनु, आर्थिक सङ्कटलाई आलटाले किसिमको सम्बोधन हुनु, विश्वका सामाजिक, आर्थिक तथा न्यायिक सङ्गठनका प्रमुखमाथि पूर्वाग्रही रूपले आक्रमण हुनु र नयाँ चुनावको मिति नजिकिँदै जानुले अमेरिकी छटपटाहटलाई स्पष्ट सङ्केत गर्दछ । यहाँ स्मरणीय कुरा के हुन सक्छ भने आफ्नो कार्यकालमा खासै ठोस उपलब्धि हासिल नभइसकेको र अर्को आम चुनावका लागि फेरि जनतामा नै जानुपर्ने बाध्यकारी अवस्था राष्ट्रपति बाराक ओबामाका सामु छ । त्यसको अल्पकालीन रणनीतिअनुरूप उनी जनतामाझ स्मरणीय हुन चाहन्छन्, जसलाई उनको कार्यकालका विभिन्न विवादास्पद गतिविधिले प्रमाणित गरिदिएको छ । आमचुनावमा भाग लिने ओबामाको घोषणासँगै उनको प्रशासन सक्रिय हुँदै गएको छ । तर, उनीबाट जति पनि प्रयासहरू भएका छन् तिनले अन्तरराष्ट्रिय छवि सुधार्नेभन्दा कार्यक्षमतामा प्रश्न उठाउने काम गरिरहेका छन् । अरब राष्ट्रमा आफ्नो प्रभुत्व कायम गरी कच्चातेलका लागि आफूअनुकूल नीति तर्जुमा गराउने कूटनीतिक रणनीतिका लागि अमेरिकी सक्रियतामै नेटो कारबाही लिबियामा चर्काएका छन् । हतियारको राजनीतिमा असफल भइसकेपश्चात् शुरू गरिएको अरब आक्रमणलाई गद्दाफी सहजै हार मान्ने अवस्थामा छैनन् । बेलाबखतमा आउने गरेका उनका वक्तव्यबाटै यो अनुमान गर्न सकिन्छ ।

अरब राष्ट्रलाई राजनीतिक रूपले कमजोर पार्ने र त्यसबाट आफूअनुकूल सरकार निर्माण गरी एकातर्फ नीतिगत लाभ लिने र अर्कोतर्फआर्थिक लाभस्वरूप तेलखानीमा आफ्नो शक्ति केन्द्रित गर्ने अमेरिकी नीति छ । तर, यो दुवै अमेरिकी हितमा छैन । त्यसले अनन्तकालमा अमेरिकी लगानी अनुत्पादक क्षेत्रमा केन्द्रित भई समग्र अर्थतन्त्रमा प्रभाव पार्ने देखिन्छ । अमेरिकी द्वैध कूटनीति र विदेश नीतिलाई बेलाबखतको विकिलिक्स खुलासाले पनि नङ्ग्याइदिएको छ।

अमेरिका साँच्चै नै यदि आर्थिक सङ्कटलाई पुनर्विचार र पूर्वाभास गर्न चाहन्छ भने उसको विदेश नीति देशगत गुणदोषको आधारमा भन्दा आफ्नो शक्ति र कमजोरीको आधारमा हुनुपर्दछ । कुनै देश प्राकृतिक शक्तिले सम्पन्न होला, कुनै वैज्ञानिक शक्तिले त कुनै दक्ष जनशक्तिले । तर, त्यसो भन्दै गर्दा अमेरिकी आँखा सबैतिर गड्ने हो भने आफूतिर नियाल्ने आँखा बन्द हुन बेर लाग्दैन । आर्थिक सङ्कटको पूर्वानुमान गर्नुको साटो आर्थिक सङ्कटलाई आर्थिक समस्याको नाम दिँदै अमेरिका अल्पकालीन हुन चाहन्छ भने छिट्टै नै अमेरिकाले चीन, भारत, जर्मनी, जापानजस्ता उदाउँदा महाशक्तिको सामना गर्न नसकी विलीन हुनुपर्नेर्छ । यसकारण अमेरिका र अन्य शक्ति राष्ट्रहरू तेल राजनीतिबाट टाढै हुने हो भने आर्थिक सङ्कटबाट बच्न सकिन्छ । अन्यथा अर्को आर्थिक सङ्कट निम्तनेछ, जसले तेलकाण्डका नामले प्रसिद्धि कमाउनेछ ।

हिमाल भट्टराई, जैन विश्वविद्यालय, बैङलोर भारतमा एमबीए तहमा अध्ययनरत । (Published in Aviyan dailly)

No comments:

Post a Comment